किरायाको अन्तर्राष्ट्रिय समन्वय जरुरी
-नरजीत राई
विषय प्रवेश
किरात राई जाति परापूर्वकालदेखि नै अस्तित्वमा रहिआएका आदिवासी हुन् । किरात राईका पूर्खा प्रथम राजा यलम्वरदेखि २९ औं राजा गस्ति सम्मले करीवन् सातसय वर्षभन्दा बढी नेपालमा राज्य गरेको तथ्य नेपालको इतिहासमा सुनौला अक्षरमा लेखिएको पाइन्छ, जुन यिनैका सन्तान, दरसन्तान हामी राई जातिहरु आजतक अस्तित्वमा रहिआएका छौं । हामी राईहरु जातिका हिसावले एक भए तापनि, धेरै थरिका राई हुनु र थरै पिच्छेका भाषा भाषिकामा अनेकता हुनु तर धर्म, कला, संस्कार र संस्कृतिमा एकता हुनु नै किरात राईहरुको अन्तर्निहित र एकीकृत पहिचान हो । आज हामी राईहरुको अस्तित्व (भाषा, धर्म, कला, संस्कृति र संस्कार ) विस्तारै लोप हुन गईरहेको स्थितिमा विश्वमा छरिएर रहेका राईहरुले जगेर्ना गर्ने कोसिस गर्नैपर्छ, नत्र ‘म राई जातिका हुँ’ भनी गर्व गर्ने समय ज्यादै कम हुदै जाँदो छ । इतिहासको गर्भमा रहेका राई जातिबारे लेखिएका, मेटिएका (मेटिन आँटेका) साँचो सत्य तथ्य प्रमाणहरुलाई खोतल्दै वा खोतल्ने कोसिसमा सकभर राई जातिका भाषाविद, इतिहासविद, संस्कृतिविद तथा समाजशास्त्रीहरु लागि-पर्नु पर्ने स्थिति आइसकेको छ ।
किरात राई यायोक्खाको नामकरण यसरी भयो :- किरात राई जातहिरुका भाषा धर्म, कला, संस्कृति र संस्कारलाई हिन्दूवा ीहरुद्व रा मेटाउने प्रयास भइरहेको वा मेटाइरहेका कारणले राईहरुको परिचय तथा अस्तित्व नै खतरामा पर्न गईरहेको महशुस गरी काठमाण्डौमा बसोबास गर्ने राई विद्यार्थीहरु, जागीरेहरुको एउटा सानो भेलाले केही नभए पनि, सांस्कृतिक रुपले राईहरुलाई अघि बढाउनु पर्छ भनेर पंचायती कालको अन्त्यतिर एउटा सामाजिक संस्था खोल्न राईहरु सफल भएका थिए । त्यो संस्थाको नाम किरात राई सांस्कृतिक संघ भनेर सो भेलाले नामकरण गरेको थियो । त्यस समयताका संस्थाका पदाधिकारीहरु प्रशासनको आँखामा समेत परेका थिए, किनकि कुनै जातिले आफ्नो गुमेको वा गुम्न आँटेको भाषा, धर्म, कला, संस्कृति र संस्कारको खोजी गर्दै सम्वर्द्धन, प्रवर्द्धन तथा उत्थान गर्न हिन्दूवादीहरुका नजरमा अपराध नै मानिने स्थिति थियो । संस्था स्थापनापूर्व पनि आफ्नो जातिको माया गर्ने अग्रजहरुले कुनै समयमा कुनै न कुनै रुपले संस्था स्थापना गरी हाम्रो जातिको पहिचानलाई जीवन्त राख्न अवश्य कोसिस गरे होलान् तर शक्तिमा रहेका कट्टर हिन्दूवादीहरुका अगाडि खुलेआम संस्थाको गठन सम्भव थिएन र सफल नभएका हुन सक्लान् ।
यस्तो हुनुमा हिन्दू अतिवादीहरुको प्रत्यक्ष बोलबाला र एकाङ्की मनोमानीले जरा गाडिसकेको थियो भनी बुझ्न कठिन पर्दैन । जब २०४६ सालको जनआन्दोलन सफल भएर जनताका आंशिक अधिकारहरु स्थापित भए, २०४७ मा जारी गरिएको सम्विधानले केही खुकुलोपना ल्याएको महसुस गरिए तापनि मुलुक धर्म निरपेक्ष रहन सकेन र हिन्दू अतिवादीहरुका अनैतिक विजयमा नेपाल हिन्दू राज्य भनी लेखियो । धर्म सापेक्ष भनी कटाक्ष देखावा कायम गराउनुमा हिन्दू अतिवादीहरुले आफ्नो नैतिक विजय सम्झे । यस्तो भएपछि धर्म निरपेक्ष पक्षधरहरुको समवेदना झनै खलबलियो, फलस्वरुप नेपालका आदिवासी जनजातिहरुले आफ्ना-आफ्ना धर्म संस्कार संस्कृतिप्रति जिम्मेवार बनी जागरण ल्याउने अभियानमा तीव्रता ल्याए । यसै सिलसिलामा किरात राई साँस्कृतिक संघको जन्म भई न्वारान भएको थियो । यस किरासा संघको प्रथम सम्मेलन काठमाण्डौको डिल्लीबजारस्थित एउटा हलमा २०४६ सालको पूर्व सन्ध्यामा सम्पन्न भएको हो । त्यहाँ किरात राईहरुको भाषा, धर्म, कला, संस्कृति र संस्कारलाई जगेर्ना गर्नका लागि राईहरुको सो संस्था स्थापना भएको व्यापक जानकारी गराइँदै संस्थाको विधानमा यस संस्थाको नाम के कस्तो राख्ने भन्नेबारे व्यापक छलफल हुँदा वान्तावा भाषाबाट यायोक्खा राख्ने भनी सर्वसम्मत निर्णय हुन गएको थियो, त्यसपछि राईहरुको यस संस्थालाई किरात राई यायोक्खा भनी नामाकरण गरिएको हो । हुन त, तत् समय त्यहाँ अन्य थरका राईहरुबाट पनि संस्थाको नामका लागि प्रस्तावहरु नआएका होइनन् तर वान्तावा भाषीहरु नेपाललगायत सिक्किम, दार्जिलिङ र भुटानसम्म सम्म फैलिएका हुनाले वान्तावा भाषालाई नै पहिलो प्राथमिकता दिनु अन्यथा नभई स्वभाविक हुनेछ भन्ने निष्कर्षको कारण वान्तवा भाषामा नै संस्थाको नाम यायोक्खा रहन गएको थियो । त्यसै दिनदेखि पहिलोपटक राईहरुको संस्थाको विधान जारी गर्दै नयाँ कार्य समिति गठन गरी जिल्ला समितिहरु गठन गर्न राईहरुको वाहुल्य भएका जिल्लातर्फ प्रचार-प्रसार गर्दै माध्यमिक सफलता प्राप्त भएको थियो । किराया नेपालले अब दुई दशक पार गरिरहेको अवस्था छ र यस संस्थाले राईहरुको लागि के कस्तो र कति काम गर्यो भनी समीक्षा गर्दै सम्पूर्ण राईहरुले मूल्याङ्कन गर्दै विश्वभरि छरिएर रहेका राईहरु अझ एकीकृत र प्रभावकारी अभियानमा निःसन्देह जुट्दै यसमा अझ तीव्रता ल्याउन जरुरी देखिन्छ ।
अन्तर्राष्ट्रिय तहमा प्रथम किराया हङकङको गठन र हलचल, हङकङको आधारभूत कानूनमा लेखिएको जन्मसिद्ध अधिकारको आधारमा हामी नेपालीहरु (गोर्खालीका छोराछोरी ) केही वर्षदेखि वैधानिक रुपले हङकङमा स्थायी रुपमा बसोबास गरिरहेका प्रमुख नेपाली समुदायहरुमध्ये राई जातिहरु पनि एक हुन् । राई जातिका पहिचानका लागि हङकङमा राई जातिहरुले आफ्नो संस्था स्थापना गर्नुपर्ने टड्कारो आवश्यकता देखियो, किनकि सात समुन्द्र पारिको राज्यमा आफ्नो अस्तित्वलाई जीवित राख्नुपर्ने बेला भैसकेको थियो । हङकङेली राईहरुवीच आपसि सद्भाव मर्दा पर्दाका अप्ठयारा परिस्थितिमा एक आपसमा सहयोग आदान प्रदान गर्ने साथै प्रवासमा समेत राईहरुको भाषा, धर्म, कला, संस्कार र संस्कृतिको प्रवर्द्धनको लागि सहयोग गर्ने उद्देश्यले राईहरुको जमघटमा आपसी छलफलबाट २८ जनवरी १९९८ का दिन हङकङस्थित काउलून पार्कमा किराया हङकङ भनी संस्था स्थापना गरियो । यो नै किरायाको नाममा अन्तर्राष्ट्रिय तहमा स्थापना भएको राईहरुको प्रथम संस्था हो ।
हङकङको सोसाइटी अर्डियन्समा कानूनी रुपमा २ अप्रिल १९९८ दर्ता गरी राईहरुको संस्कृति साकेला शीलिलाई (१७ मई १९९८) हङकङको टाइमोसनमा प्रथम पटक राईहरुको चाडको रुपमा आयोजना गरी धुमधामका साथ सम्पन्न गरिएको थियो । छोटो समयमा सो कार्यक्रम सम्पन्न गरेपछि किराया हङकङेली नेपाली समाजमा निकै चर्चित भएको थियो । किराया हङकङ स्थापना गरिएको बारे किराया नेपाललाई सहर्ष जानकारी गराइयो तर एकापसमा अनायस सिर्जिन पुगेको सुझबुझको कमीले केही वर्ष किराया हङकङ र नेपालबीच न्यानो सम्वन्ध रहन सकेन । वास्तवमै त्यो अत्यन्तै दुःखदायी समय भएर गुज्रियो किनभने यो पङ्क्तिकार स्वयं तत् समय (किराया नेपालको भू.पू.सदस्यको साथै किराया हङकङका संस्थापक) रहेको थियो । आखिरमा सम्बन्धलाई न्यानो पार्न किराया नेपाल र हङकङका प्रतिनिधिहरुले सात वुंदे सहमति पत्रमा हस्ताक्षर गरी लिखित सम्बन्ध सथापना गर्नु परेको थियो । त्यस समयको समीक्षात्मक भाषा व्यक्त गर्नु पर्दा र आ-आफना कमी-कमजोरी केलाउँदा किराया नेपालको हठवादी नीतिको कारण एउटै नाम, एउटै उद्देश्य, एउटै विचार लिएर स्थापना भएका दुई संस्थाबीच पनि निम्न समझदारीमा हस्ताक्षर सम्पन्न भएको थियो ।
-क) दुई संस्थाहरुबीच भाइचारा संस्थाको रुपमा सहयोग लिने दिने ।
-ख) संस्थालाई विशुद्ध सामाजिक संस्थाको रुपमा अगाडि बढाउने, राजनीति दल विशेषको प्रभावमा परी राजनितिक गतिविधि नगर्ने ।
-ग) किरात राईहरुको भाषा, संस्कार, संस्कृति र धर्मको संरक्षण, सम्वर्द्धन गर्ने ।
-घ) संस्थाको कार्य सम्पादन गर्दा संस्थाको प्रतिष्ठामा आंच आउने कुनै किसिमको कार्य नगर्ने ।
-ङ) संस्थाको उद्धेश्य प्राप्तिको लागि दत्तचित्त भई क्रियाशील हुने ।
-च) दुबै संस्थाका प्रकाशनहरु एकापसमा प्रचारप्रसारका लागि विक्री-वितरण गर्न सहयोग पुर्याउने ।
-छ) दुबै संस्थाका सभा सम्मेलनमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने ।
यसरी भाइचारा संस्थाको मान्यता प्राप्त गर्ने पहिलो प्रवासी संस्था सायद किराया हङकङ नै होला । अब त किराया विश्वका ठूला-साना देशहरु अमेरिका, वेलायत, कोरिया, जापान, मलेसिया, कतार, दुबई, भारत तथा अन्य थुप्रै राष्ट्रहरुमा स्थापना भइसकेको छ र कतिपय देशहरुमा स्थापना हुन गइरहेको छ । सम्भवतः माथिका वुंदाले ती विभिन्न देशमा स्थापित किरायालाई बाँध्ला कि ? यायोक्खाहरु अहिले संसारका विभिन्न देशहरुमा राई जातिको संस्था किरात राई यायोक्खा स्थापना भएका छन् साथै स्थापना हुने क्रममा उनीहरुको विधानका प्रस्तावना र उद्देश्यहरुमा भाषा, संस्कार, संस्कृति र धर्मको संरक्षण, सम्वर्द्धन गर्ने तथ्यहरु उल्लेख गरिएकै होलान् । तसर्थ, अब त किराया एउटा टाइटल मात्र भएर वस्नु पर्ने स्थिति छैन, जातीयताको लागि हरेक क्षेत्रबाट सहयोग आदान-प्रदान गर्दै सम्पूर्ण थरिका राईहरु सशक्त रुपमा गोलबन्द हुँदै आफ्नो पहिचानलाई एक खुड्किलो अगाडि बढाउनु पर्ने स्थिति आई नै सक्यो जस्तो लाग्दछ । जसका लागि न्यूनतम निम्न कुराहरुमा अहिलेदेखि नै तदारुकताकासाथ अघि बढ्ने चेष्टासम्म गरिए एक खुड्किलो चढ्न सहज हुनेछ भन्ने लाग्दछ ।
१. भाषा
प्राय संस्कृति परम्परा र संस्कार एवं धर्मको दृष्टिकोणले हामी राईहरु एक जाति हौं । यद्यपि थरैपिच्छेका भाषागत दृष्टिकोणले फरक जस्तो भएका छौं । राईहरु २८ थरिभन्दा बढीका थर भएका राईहरु थिए भन्ने अनुसन्धानबाट पुष्टि भए पनि आज धेरै थरिका भाषा-भाषिका लोप भइसकेको अनुमान गरिएको छ । बचेखुचेका विभिन्न थरिका भाषा-भाषिकाहरुले पनि लोपोन्मुखतर्फ खतरा मोलिरहेका अवस्था छ । यसर्थ, किरायाहरुको पहलमा प्रत्येक भाषिकाहरुको भाषालाई वृहत शव्दकोष निर्माण गरी सुन्दर फूलहरुलाई मर्नबाट जोगाउने सत्प्रयत्नमा लाग्नुपर्दछ । यसका लागि प्रत्येक भाषीका राईहरुलाई प्रोत्साहित गर्दै सहयोगी भुमिका निर्वाह गर्नु किरायाहरुको मुख्य कर्तव्य हुनेछ । हुन त कतिपय राई भाषीहरुको शव्दकोष निर्माण भइसकेको भए तापनि संस्थागत रुपले यसको वृहतता अपनाउँदै विभिन्न थरिका राईहरुको विभागीय सर्वोच्चता अपनाउँदै किराया नेतृत्व तहबाटै भाषाविदहरुलाई हरेक क्षेत्रबाट सहयोग गर्दै वैज्ञानिक अनुसन्धान गर्न लगाउनु पर्दछ । यसपछि मात्रै प्रत्येक थरिका राईहरुको भाषाको विकासमा एक खुडकिलो कदम उक्लन सम्भव हुनेछ ।
२. धर्म संस्कार किरात राईहरुको धर्म किरात धर्म मान्ने हो भने धर्मशास्त्र मुन्धुम हो । मुन्धुम भनेको किरातीहरुको पुस्ता दरपुस्तादेखि सुन्दै, कण्ठ पार्दै ल्याइएको अलिखित तर अति नै महत्वपूर्ण दस्तावेज हो । मुन्धुममा प्रकृतिमा रहेका माटो, हावा, पानी, पशु, वनस्पति, पंक्षी, किटपतङ्ग, आकाश, धर्तीदेखि मानवीय जीवनको श्रृष्टिसम्मका तथ्यहरु आउँछन् तर मुन्धुममा के कस्ता श्रुतिहरु रहेका छन् त भनी जो कसैले वर्तमानमा प्रश्न गरेमा वाल्लव्याल्ल पर्ने अवस्था आएको छ । मुन्धुमलाई अघिल्लो पुस्ताबाट सुनी कण्ठस्थ पार्दै अवतक बचाउने कार्य नाक्छोङर्हरुले गर्दै आईरहेका छन् । उनीहरुले नै राईहरुको जन्मदेखि मृत्युपर्यन्त गरिने विविध संस्कारहरु मौखिक मुन्धुम फलाक्दै सम्पन्न गर्दछन् । यसर्थ, किरायाको नेतृत्वमा प्रत्येकथरि राईहरुको मुन्धुमवेत्ता (नाक्छोङ)सँग सम्पर्क गरी मुन्धुममा के के फलाकिएका छन् भनी अनुसन्धान कर्ताहरुबाट लिपीबद्ध श्रव्य दृश्यमा सुरक्षित र विकसित गरी पछिल्लो पुस्ताका राईहरुलाई बुझाउन हर प्रयत्नहरु गर्नुपर्दछ । शुरुमा जटिलता महशुस भए तापनि कालान्तरमा बिस्तारै सहज हुँदै आउने छ । यसका लागि किरायाहरुले नै सक्रीय भूमिका निर्वाह गर्दै पहलकदमी गर्नुपर्ने हुन्छ ।
३. संस्कृति किरात राईहरुको आजसम्म रहेको जीवित संस्कृति भनेको नै साकेला हो । साकेला किरात राईहरुको भूमि देवता हुन् अर्थात् किरातहरु प्रकृति पूजक हुन् । यसलाई विभिन्न थरिका राईहरुले साकेला, साकेन्वा, साक्ले, तोषी आदि नामबाट पुकार्ने गर्दछन् । साकेला वर्षमा दुईपटक उभौली र उधौलीको रुपमा पित्रीहरुको सम्झना गर्दै पर्वको रुपमा मनाइन्छ । यसको मुख्य आकर्षण भनेको शीलि (नाच्ने भाका) हो । शीलिमा खास गरेर भूमिसम्बन्धि, नाग, नगेनी, जंगली जनावर, प्रकृतिमा रहेका किरा फट्याङ्ग्राहरुको हाउभाउ, आदिको नक्कल गर्दै उधौली उभौलीको अवसरमा राईहरु नाच्छन् र नाचिन्छ तर अबका पछिल्ला पुस्ताहरुका लागि अलिकति बचेको संस्कृतिलाई पनि बचाउन नसकी डिस्कोको रुपमा रुपानतरण होला कि भन्ने खतरा बढेर गएको छ । तसर्थ, प्रत्येक थरिका राईहरुले हाम्रा शीलिहरु कति किसिमका थिए ? कुन कुन शीलि कसरी नाचिन्छ ? आदि भन्नेबारे खोज-अनुसन्धान गर्नु पर्ने बेला आएको हुनाले खोजकर्तालाई प्रोत्साहन र हरसम्भव सहयोग गर्दै प्रत्येक शीलिको बारेमा एक-एक गरी यो शीलि यो हो, यसरी नाच्नु पर्छ भनी लिपि, श्रव्य, दृश्यको रुपमा प्रकाशन गरी राई समाजमा ल्याई सोसम्वन्धि अहिलेका पुस्ताहरुलाई सिकाउनु पर्दछ । यसका निम्ति पनि किरायाले नै पहलकदमी उठाउनु पर्दछ ।
किरायाहरुले के गर्ने ?
माथि उल्लेख भएझैँ किरायाहरुले उनीहरुको विधानको प्रस्तावना र उद्देश्यमा भाषा, लिपी, संस्कार, संस्कृति र धर्मको संरक्षण, सम्वर्द्धनबारे लेखिएको रहेछ भने विभिन्न देशहरुमा स्थापना भएका किरायाहरुबीच एक समन्वय समिति गठन गरी सोका लागि दीर्घकालीन योजना बनाउँदै किराया नेपाललाई केन्द्र बनाई भौतिक, आर्थिक र साङ्गठानिक रुपमा सशक्त बनाउनु पर्दछ । भाषाविद, संस्कृतिविद, इतिहासकार, तथा समाज शास्त्रीहरुलाई यस पक्षमा अध्ययन र उत्खननका लागि प्रोत्साहन प्रदान गर्दै केन्द्रलाई सहयोग पुर्याउन सम्पूर्ण राष्ट्रहरुमा स्थापित किरायाहरुले सकृयता अपनाउनै पर्दछ । संस्थागत रुपमा सबै र्राईहरु मिलेर आफ्नो जातीय परम्पराहरुलाई जगेर्ना गर्नु किरायाहरुको प्रमुख दायित्व तथा कर्तव्य हो ।
Vincent Rai-Sampang
YL,NT
Hong Kong ...








