सिओल कोरिया ।
चौथो वहु राष्ट्रिय सांस्कृतिक कार्यक्रम अर्थात माईग्रान्ट आरिराङ फेष्टिभल मे ११ आईतबारका दिन दक्षिण कोरियाको राजधानी सउलमा भब्यताका साथ संम्पन्न भएको छ । विभिन्न देशका राजदुत रहेको उक्त कार्यक्रममा नेपाली राजदूत महामहिम कमल प्रसाद कोईरालाको पनि उपस्तिति रहेको थियो । २००५ देखि वर्षैपिच्छे मनाउँदै आइरहेको यस फेष्टिभलमा विश्वका विभिन्न थुप्रै राष्ट्रहरुको सहभागिता रहेको थियो । दक्षिण अमेरिका, रसिया, मँगोल, मियान्मार, बङ्गलादेश, भियतनाम, श्रीलँका, इन्डोनेसिया, प्रवासी कोरियन, थाइलेन्ड, फिलिपिन्स, चीन, नेपाल र पाकिस्तानको सहभागिता रहेकोथियो । यही क्रममा नेपालले पनि नेपाली परम्परा र संस्कृति विश्वका सामू चिनाउँदै प्रथम भई गोल्ड मेडेलसहित दश लाख वोन प्राप्त गरेको छ ।
दक्षिण कोरियास्थित नेपालीहरुको छाता संगठनको रुपमा परिचित नेपाली सम्पर्क समितिले यस कार्यक्रममा नेपालको तर्फबाट संयोजकको भूमिका निभाएको थियो । राई परिवार, बाग्लुङ परिवार, मुस्ताङ परिवार, तामाँङ, हेलम्बु परिवार, आपतकालीन सहयोग समिति,हिमालय बुद्ध परिवार, नेपाल कोरिया साँस्कृतिक मन्च, जनजाती, तमु परिवार, नेवा पुच, लगायत अन्य थुप्रै जातीय तथा धार्मिक संघ संस्थाहरुले आआफ्नो परम्परागत साँस्कृतिक झल्कोहरु प्रस्तुत गरेका थिए । सबैभन्दा राम्रो भूमिका खेल्ने संस्था जसमा बाग्लुङ परिवारको पन्चे बाजा प्रथम, किरांत राईहरुको चण्डी नाच दि्वतीय र मुस्ताङ परिवारको घामी नाँच तृतीय भई क्रमशः पाँच लाख वोन, तीन लाख वोन र दुई लाख वोन प्राप्त गरेका थिए । नेवाः पुचको परम्परागत बेल विवाह र स्वयम्भु प्रदर्शन, तामाङ परिवारको तामाङ सेलो, त्यसैगरी हेलम्बु परिवारको हेल्मु नृत्य अनि आपतकालीन नेपाली सेवा समितिको मैथली नृत्यले थप मनोरन्जन प्रदान गरेको थियो । बुद्ध जयन्तिका दिन अत्यन्तै प्रख्यात बनेको हिमालयन बुद्धिष्ट समूहले हिमालयन बुद्धिष्ट नृत्य, त्यसैगरी कोरियाको विभिन्न देशी तथा विदेशी सांस्कृतिक कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै आईरहेको नेपाल कोरिया सांस्कृतिक मन्चले आफ्नो विशेष कार्यक्रम देखाई कार्यक्रमलाई थप रोचक बनएको थियो ।
वर्षको एकचोटी आउने र निक्कै रमाईलो हुने यस कार्यक्रममा नेपाल जनजाति महासंघले चिठ्ठा कार्यक्रमको नतिजा सार्वजानिक गरिएको थियो । हनुमान र शिवको मूर्तिको आकार दिएको नेपालको रिक्सा थप आकर्षणको केन्द्र बनेको थियो । कोरियानहरु नेपाली रिक्सामा बसेर डुल्न र फोटो खिच्न, अनि विभिन्न नेपाली ट्याटुहरुको छाप लगाउन, नेपाली खाना खानको लागि घण्टौं लाइनमा बसेको देखिन्थे । उक्त कार्यक्रमभर कोरियन भाषामा अनुवादक के पी सिटौलाले मेहेनतका साथ विदेशी पाहुनाहरुलाई नेपाल, नेपाली र कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको अन्तमा नेपाली सम्पर्क समितिका अध्यक्ष ईश्वर के.सी.ले कार्यक्रममा सहभागीलगायत सम्पूर्णलाई हार्दिक धन्यवाद दिएका थिए।
स्मरण रहोस्, यसअघि नेपालमा पहिलो माइग्रान्ट आरिराङ फेष्टिभलमा प्रथम भएको थियो ।
-उमेश वस्नेत ...




