Yalamber.com
welcome to my blog

Title: सुर्यबहादुर थापा vs हरिराज तिगेला लिम्बू

पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापालाई हराउने माओवादी नेताको राष्ट्रपति बन्ने सपना

पञ्चायतकाल र प्रजातन्त्र पुर्नस्थापना पछि पनि पटकपटक प्रधानमन्त्री भएर राष्ट्रको बागडोर सम्हालेका नेपालको राष्ट्रिय राजनीतिको महारथीहरुको एक व्यक्तिका रुपमा चिनिएका सुर्यबहादुर थापालाई सबिधानसभा सदस्य निर्वाचनमा पराजित गर्ने माओवादीका ३५ बषिर्य युवा सभासद् हरिराज तिगेला लिम्बूको धनकुटा सदरमुकाममा रहेको सानो कोठामा पुगेर उनीसगँ राजेश राईले गरेको रोचक भेटबार्ता:

उनले सुर्यबहादुर थापाको पहिलोपल्ट नाम सुन्दाको कहानीबाट कुरो यसरी सुरु गरे:

"कुरा २०३६ सालको हो म त्यो बेला कक्षा ५ मा हात्तिखर्क गाविसको स्थानीय भारती माविमा पढ्थें । मेरो उमेर ११ बर्षको थियो । २०३६ सालको तिहार शुरु हुन लागेको थियो । बारीभरी ढकमक्क मखमली फुलेको थियो, गाउँमा देउसी भैलो सुरु भईसकेको थियो । देउँसीरे गाउनेहरु गाउँभरी हुलकाहुल थिए । म पनि आफ्नो दामलका साथीहरुसगँ देउसी खेल्न जानका लागि तयारी गदै थिएँ । त्यही बेला मेरा जेठा दाजु खगेन्द्र लिम्बुले नजिकै छिमेकी गाविस छिन्ताङमा भएको हत्याकाण्डको खबर घरमा सुनाए ।

मैले पनि चासो राखेर सुनें । मात्र कम्युनिष्टहरुको बढ्दो संगठनबाट त्रासित भएर कम्युनिष्टहरुको बेल्ट भत्काउन र उर्लिदो प्रजातान्त्रिक आन्दोलनलाई तसह नहस पार्नको लागि गृह जिल्ला धनकुटा नै भएको प्रधानमन्त्री सुर्यबहादुर थापाको आदेशमा पञ्चायती प्रहरी, सेना र पञ्चहरुले १५ जना निहत्था र निर्दोष छिन्ताङे जनताहरुको बर्बर तरिकाले हत्या, सैयौलाई अमानवीय तरिकाले यातना, वलत्कार र लुटपाट गरेको खबर दाजुबाट सुनें । दाजु पनि कम्युनिष्टका नेता थिए । दाजुले यो कुरा सुनाउँदै गाउँलेहरुलाई हत्यारा र्सूयबहादर थापाको बिरुद्धमा र प्रजातन्त्रको पक्षमा एक जुट भएर लाग्न अनुरोध गरिरहदाँ मलाई पनि ११ बर्ष कै उमेरमा नै सुर्यबहादर थापा बिरुद्ध घृणा र आक्रोस जागेको थियो ।"

यसरी ११ बर्षे बालक हरिराज तिगेलाको बाल मनस्थितीमा पनि निर्दोष जनताको हत्या गर्न लगाउने सुर्यबहादुर थापा बिरुद्ध लड्नु पर्छ भन्ने छाप परेको थियो । पहिलो पल्ट सुर्यबहादुर थापाको नाम सुन्दा नै उ बिरुद्ध लड्नु पर्छ भन्ने भावना जागेको थियो उनिमा। सुर्यबहादुर थापाको नाम पहिलो पल्ट यसरी थाहा पाएको थिए उनले । तर यति बेला त्यो सम्झीदा उनलाई कथा जस्तो लाग्छ ।

यति कहानी सुनाएर पछि उनी भावुक पनि बने र उनको जेठा दाजुको कुरा निकाले । उनलाई कम्युनिष्ट बनाउने जेठा दाजु खगेन्द्र लिम्बू २०४४ सालमा काठमाण्डौमा डिग्री पढ्न गए देखी आजसम्म घर फर्किएका छैनन्‌ । दाजुले ल्याएको अग्नीदिशा, आमा, मान्छेको भाग्य जस्ता क्रान्तिकारी पुस्तक पढेर कम्युनिष्ट भए, दाईले पढ्नमा उत्प्रेरित गरेका थिए। उनि यहाँसम्म आईपुग्नमा दाजुको ठूलो हात छ तर वहाँ पढ्न गएदेखी आजसम्म घर फर्किनु भएको छैन, कहाँ जानु भो, के हुनु भो, पत्तो छैन, उनले दाजुको सम्झना गरे ।

राजनीतिक जीवनकोबारे मैले सोधें । साथी सङगीहरु लाहुरे बन्नका लागि छात्ति नपाउन धरान झरिरहदाँ उनी २०४४ सालमा हात्तीखर्कबाट पढ्नलाई धनकुटा सदरमुकाम आए । सबै साथीहरु लाहुरे बन्नलाई हुलकाहुल बाँधेर धरान झरी रहदाँ पनि उनलाई त्यो चाहना कहिर्ल्र्यै पलाएनछ । धनकुटाको गोकुडेश्वर मा. वि.मा पढ्न सुरु गरेपछि राजनीति थाले । अनेरास्ववियूबाट राजीनिती थाले उनले । विद्यार्थी राजीनीतीमा अगाडि ल्याउने राजेन्द्र राइ थिए । उनले राजेन्द्र राइलाई सम्झीदै भने 'राजीनितीमा ल्याउने वहाँ नै हो म वहाँलाई सधै सम्मान गर्छु।' राजेन्द्र राइ यतिबेला चिया तथा कफी बोर्डको उपाध्यक्ष तथा धनकुटा जिल्लाको एमाले नेता छन् ।

राजेन्द्र राइसगँ कस्तो सम्बन्ध छ नी अहिले ? - मैले सोधें । हिजो मात्र फोनमा अन्तरङ्ग कुराकानी भएको उनले खुलासा गरे । विद्यार्थीको राजीनिती गदै धनकुटा बहुमुखी क्यम्पसबाट वि. ए. सकेर आफ्नै गाउँको भारती प्राविमा मास्टर भएर गएका उनी त्यही विद्यालयमा हेडमास्टर पनि भए र २०५४ सालमा फेरी स्थायी जागीर छोडेर राजनीतिमा आए । हेडमास्टरको जागीर छोडेर नेकपा एमालेबाट हात्तीखर्क गाविसको अध्यक्ष भए । त्यसपछि माले हुदै २०५७ सालमा औपचारिक रुपले माओवादीमा प्रवेश गरे । 'हुन त म जनयुद्ध शुरु नहुदैदेखि क्रान्तिकारी साथीहरुसंग नजिकको सम्पर्कमा थिएँ । त्यसवेलाका क्रान्तिकारी केही साथिहरु आजभोलि खासै सक्रिय छैनन् ।'

"सुरुमा माओवादीको को संग सम्पर्क भयो नी ?" "सुरुमा हिमाल (हाल सुन्सरी जिल्ला इन्चार्ज) संग सम्पर्क भएको थियो । त्यो भन्दा अघि २०५१ मा तत्कालिन जनमोर्चाका नेता डा. बाबुराम भट्टराइ भेटघाटको निम्ति पूर्व आउनु हुदा भेट भएको थियो तर शिक्षक पेशाको कारण राजनैतिक हैसियतले नभइ अन्य हैसियतले । माओवादीतिर लागे पछि धनकुटामा वारेन्ट जारी भयो । वारेन्ट जारी पछि भागेर काठमाण्डौ लागें । माओवादी सम्बद्ध किरात मुक्ती मोर्चा स्थापनापूर्व भक्तराज कन्दङवा हात्तिखर्कको मेरै घरमा आउनु भएको थियो र मैले वहालाई सहयोग गरेको थिएँ र काठमाण्डौमै मोर्चाको लागि धेरै काम गरियो । पार्टी बाटै संघिय राज्यको अवधारणा आए पछि लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालसंग आबद्ध छु । काठमाण्डौमा साह्रै कठिन दिनहरु विताएँ । भक्तपुरको गोठगोठमा भोकै रातहरु विताइयो । पैसा नहुदाँ काठमाण्डौमा कति दिन त भोकभौकै पनि हिडियो ।" उनले सुनाए । आफ्नो आमाको मृत्यु हुदाँ धनकुटा आउन नसकेको क्षण सधै उनलाई नमिठो लागिरहन्छ । २०५८ सालमा उनको आमाको मृत्यु हुदाँ उनी काठमाण्डौमा थिए ।

कसरी लडे चुनाव ?

उनले भने 'सबिधानसभाको निर्वाचनमा पार्टीबाट चुनावको लागि टिकट पाउने आसामा थिएँ तर टिकट दिन्छ नै भनेर ढुक्क चाहि थिइन ।' यद्यपि धनकुटा क्षेत्र न.२ मा माओवादीबाट जसले टिकट पाए पनि आफ्नो पार्टीले चुनाव जित्नेमा उनी कन्फीडेन्ट भने थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि डेढ बर्षउनले प्रत्यक गाविसको टोलटोलमा संगठन बनाएका थिए । एउटै गाउँमा बिभिन्न भातृ संगठन र मोर्चा गरेर आठ नौ प्रकारको संगठन बनाएका थिए । प्रायः गाउँको सबै मान्छे कुनै न कुनै संगठनमा संगठित गराएका थिए । एउटै गाउँमा एक दर्जन जति संगठन र मोर्चा बनाएका थिए ।

संबिधानसभाको निर्वाचनमा जब पार्टीले उनलाई धनकुटाको क्षेत्र न.२ मा टिकट दियो उनी अत्यन्त उत्साहित भएका थिए । "सुर्यबहादुर थापाको क्षेत्रमा पार्टीले टिकट दिदाँ चुनाव हार्छु जस्तो लागेन ?" मैले सोधें । 'अहं, चुनाव हार्छु जस्तो त लागेकै थिएन ।" बरु शुरुमा सुर्यबहादुर थापा धनकुटामा चुनाव लड्न नआउने भन्ने हल्ला सुन्दा चाहि उनलाई अलि खल्लो लागेको थियो । "किन नी ?" यो मेरो प्रश्नको जवाफमा उनले भने "प्रत्यक गाँउगाँउका कार्यकर्ताहरुको सक्रियता र सहभागिताले उत्साहित थिएँ । म चुनाव जित्नेमा कन्फीडेन्ड थिएँ, थापालाई हराउन नपाईने भो भनेर खल्लो लागेको थियो ।'

मधेसमा आन्दोलनरत समुह र सरकार बीच भएको वार्ता सफल भएलगतै सुर्यबहादुर थापा चुनाव लड्न धनकुटा आएपछि भने उनी उत्साहित भएका थिए । तर थोरै डर भने लागेको थियो किनकी यसअघि पनि थापाले पैसा बाडेर चुनाव जित्दै आएको उनलाई थाह थियो । गाउँमा पैसा बाड्न नदिनको लागि प्रत्येक गाउँमा १० देखी १५ जनाको समुह रात दिन डियुटीमा आफ्नो कार्यकर्ताहरु राखेका थिए । पैसा बाडेको भेट्ना साथ नियन्त्रणमा लिनु भनेका थिए कार्यकर्ताहरुलाई ।

'जब थापा चुनाव प्रचार प्रसारको लागि धनकुटा आए प्रत्यक गाउँमा १० देखी १५ जनाको हाम्रो गस्ती जारी रह्यो। हामी पैसाले जनताहरुलाई किन्न दिने पक्षमा थिएनौं ।'

चुनावमा हिड्दाको एउटा रमाईलो घटना पनि उनले सुनाए - 'चैत्र २५ गते धनकुटाको लेगुवाबाट कार्यक्रम सकेपछि गाडी नपाएर ट्याक्टरमा चढेर हिले आउँदै थियौं । बीच बाटोमा नै ट्याक्टर पनि बिग्रियो । रातको ८ बजी सकेको थियो । ट्याक्टर बिग्रिएपछि साथीहरु संग र्टच बालेर हिडेर घोर्लिखर्क उकालो आउदै थियौं, हामीलाई एउटा समुहले अचानक घेरा हाले । हामी आत्तीयौं, घेरा हालेर हामीलाई पक्रन थाले, नजिकमा यसो हेरेको हाम्रै साथीहरु पो रहेछन्‌।'

सुर्यबहादुर थापाका कार्यकर्ताहरु राती पैसा बाढ्न आएछन् भनेर गस्तीमा बसेका आफ्नै साथीहरुले घेरा हालेको रहेछ । उनको त्यो दिन चुनावभरीको अबिस्मरणीय क्षण हो । धनकुटाको प्रायः सबै गाविसहरुमा गाडी पुग्ने भए पनि निजी गाडी प्रयोग गरेनन्‌ उनले । धेरै ठाउँ अन्य र्सबसाधरणले जस्तै यात्रुवाहक गाडीमा टिकट काटेर गाडी चढे ।

पैसा कति खर्च गर्नु भो ? "पैसा त जम्मै गरी २५ हजार, त्यो पैसा पनि पार्टीले नै दिएको हो । त्यही २५ हजार पनि मेरो हातमा हुँदैनथ्यो । सबै पैसा दुइ नम्बर क्षेत्रको निर्वाचन क्षेत्र संयोजक क. शर्मिलाको हातमा हुन्थ्यो । आवश्यक पर्दा मागेर चलाउनु पथ्र्यौ ।" "व्यक्तिगत पैसा पनि थियो होला नी ?" मैले फेरी सोधें- "गाउँमा खानखानु त जनताहरुले नै खुवाउँथे आफ्नो गोजीमा पैसा नै थिएन नी ।"

सपना राष्ट्रपति वन्ने ?


Top: Hariraj Tigela Limbu. Maoist rally after his victory. Photos: Rajesh Rai.

सुर्यबहादुर थापालाई हराउदा कस्तो लाग्यो ? मैल प्रश्न गरें । "सुर्यबहादुर थापालाई मैले हराएको होईन, जनताले हराएका हुन्, जनता महान् छन् ।"

"अबको सपना के छ नी ?" एक छिन घोरिएर, "सपना त सबैको ठूलै हुन्छ मेरो पनि अन्तिम सपना राष्ट्रपति बन्ने हो ।" उनले भने।

"तपाईंका सपना पुरा होला त ?" "सबै सपनाहरु पुरा हुनैपर्छ भन्ने हुदैन तर सपना देख्नु चहि राम्रो कुरा हो । यो सपनाको साथ प्रतिबद्ध भएर निरन्तर काम गरीरहने हो कहाँ पुगिन्छ हेरौं ।"

"प्रस्तावित लिम्बूवान राज्यबाट प्रत्यक्ष चुनावबाट जितेर जाने एकमात्र लिम्बू सभासद् तपाई हुनुहुन्छ अब मन्त्री त पक्का बन्नु हुन्छ होला नी ?" म सगै गएका मित्र सन्तबीर लामाले सोधे । उनलाई मन्त्री हुने कुनै महत्वकांक्षा नभएको उनले बताए ।

लिम्बुवान क्षेत्रबाट लिम्बू नै जानु पर्छ भन्ने कुरामा उनी असहमत छन् । जो गएपनि लिम्बुवान क्षेत्रको भावनालाई समेट्न सक्ने जानु पर्छ तर लिम्बू नै जानु पर्छ भन्ने छैन । मन्त्री बन्ने महत्कांक्षा नभएपनि पार्टीले जिम्मेवारी दिएको खण्डमा नेतृत्व गर्ने उनले बताए । अबको सबिधानसभामा बिशेष गरी सदियौ देखी उत्पीडनमा परेका आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्नको लागि पहल गर्ने योजना छ उनको । "म आदिवासी जनजाति मुलको नै भएकोले मलाई पीडा थाहा छ भोग्दै आएको छु । त्यसैले मेरो जोड आदिवासी जनजातिको अधिकार संबिधानमा लेखाउनु हुनेछ ।"


"तपाइ नाट्य क्षेत्रको कलाकार । एकांङ्गी नाटक संग्रह 'अपदस्त जिन्दगी' पुस्तक पनि प्रकाशित गरिसक्नु भएको छ । अहिले कस्तो छ सिर्जनाको क्षेत्र ?" हाम्रो यो बिट मार्ने प्रश्न को उत्तर दिदै उनले भने "कलाकारिता र लेखन मलाई मनपर्ने क्षेत्र भएकोले यसलाई निरन्तरता दिनेछु । भूमिगतको समयमा घटेका घट्नाहरु झन धेरै स्रोत बनेका छन् । केही मेरा गीतहरु रेकर्ड हुने तयारीमा छन् । बिषेशत भूमिगतको समयमा जजस्ले मलाई सहयोग गरेर बचाउनु भयो वहाहरुलाई मैले जसरी पनि सम्झनुछ । ती विगतहरु आगामी मेरो सिर्जनामा पनि रहनेछ ।"

-Rajesh Rai, Commnets? email: writer_bhumiputra@yahoo.com, May 20, 2008

http://www.usnepalonline. com/interview_hariraj_tig ela_may20_08.htm ...
User's blog  date 3 icon 114
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

Amazing happen in Nepal after 6 decades
Sunday, May 25th 2008, 11:04 PM
Amazing happen in Nepal after 6 decades....

Surya Bahadur is hardcore Panchey
Saturday, May 24th 2008, 12:51 AM
Surya Bahadur is hardcore Panchey ... He was a mastermind of killing and suppressing people in Nepali years 2036, 2037 and 2038.

Lots of students, teachers, workers and village people get killed under Surya Bahadur Thapa special orders.

His final day is coming nearer and nearer.... everyday.

It is just a matter of time.

one query,....
Friday, May 23rd 2008, 10:59 AM
Surya Bahadur Thapa did bad things in past that id par forgiveness then what the hell is doing in Kathmandu now? whay can't the maoist take action against the people like him, kamal thapa etc...After all they have changer to a political party?



Drop your comment

Sorry guest can't post comment.