स्वास्थ्यचौकीसँगैको पाखामा सुत्केरी
by Mumta on Monday, April 12th 2010, 6:46 PM
स्वास्थ् चौकीसँग को पाखामा सुत्केरी:-
- वेदप्रकाश तिमिल्सैना
अछाम-, चैत्र ३० - नजिकैको कुच्ची स्वास्थ्यचौकीमा सुरक्षित प्रसूतिसम्बन्धी गोष्ठी भइरहँदा अछामको कालिकास्थान गाविस ८ दमाईबाडाकी सुमित्रा नेपालीले जंगलको पाखामा बाख्रा चराउन आएका बेला आइतबार बच्चा जन्माइन् ।
माथिल्लो तस्बिरमा प्रसूति व्यथाले च्यापेपछि २६ वर्षीया सुमित्रालाई सम्हाल्दै अर्की महिला । उनले भिरालो बाटोमै छोरी जन्माइन् । तलको तस्बिरमा उनी सुत्केरी भएको खबर पाएपछि नजिकैको स्वास्थ्यचौकीबाट आएकी अनमी इन्द्रा बुढामगर बच्चाको साल काट्दै ।
स्वास्थ्यचौकी उनको घरबाट करिब ५ सय मिटर मात्र टाढा छ । अछाममा हरेक वर्ष ५० भन्दा बढी महिला यसैगरी जंगल र पाखोबारीमा सुत्केरी हुने गरेका स्थानीय स्वास्थ्य संस्थाहरूले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार प्रसूति भएकामध्ये १३.३ प्रतिशत महिला मात्रै प्रसूति गराउन स्वास्थ्य संस्थामा पुग्छन् । बाँकी ८७.७ प्रतिशत नजिकै भए पनि स्वास्थ्य संस्थामा जाँदैनन् । प्रसूति ब्यथाले च्याप्दा घर, खेतबारी वा जंगल जहाँ होइन्छ त्यहीं बच्चा जन्माउँछन् ।