घरजग्गाको महिनैपिच्छे कारोबार घट्दै मूल्य बढ्न छाड्यो
by suman on Wednesday, May 19th 2010, 3:33 PM
घरजग्गाको महिनैपिच्छे कारोबार घट्दै मूल्य बढ्न छाड्यो:-
- ekantipur.com रोशन अधिकारी
काठमाडौ, जेष्ठ ५ - राजधानीमा घरजग्गा कारोबारमा लगातार गिरावट आउन थालेको छ । चैत महिनाको तुलनामा वैशाखमा काठमाडौं उपत्यकाका ५ मालपोत कार्यालयले ४२ प्रतिशत कम राजस्व उठाएका छन् । चैत वैशाखको समय घरजग्गा बिक्रीका लागि 'पिक आवर' हुने गरे पनि कारोबार पूर्ण सुस्ताएको छ । राजस्वका साथै लिखतमा पनि ५० प्रतिशतको हाराहारी गिरावट आएको सम्बन्धित मालपोत कार्यालय बताउँछन् ।
चैत महिनामा १८ करोड ४८ लाख रुपैयाँ राजस्व उठेको मालपोत कार्यालयमा वैशाख भर १० करोड ६१ लाख रुपैयाँ मात्र संकलन भएको छ । उपत्यकामा सबैभन्दा धेरै राजस्व उठाउने काठमाडौं मालपोत कार्यालयमा ५० प्रतिशतको हाराहारी राजस्व घटेको छ । चैतमा ६ करोड २१ लाख राजस्व उठेको यस कार्यालयमा वैशाखभर ३ करोड २८ लाख मात्र उठेको छ । चाबहिल कार्यालयमा पनि ४ करोड ५५ लाखबाट २ करोड ८७ लाखमा झरेको छ ।
'अहिलेको समय पिक आवर हुन्थ्यो,' चाबहिल मालपोत कार्यालय प्रमुख अमृत कर्माचार्यले भने, 'यसपटक लिखत ज्यादै कम भएको छ ।' पछिल्लो चार महिनामा निरन्तर राजस्व र लिखत घट्ने क्रममा देखिएको उनले बताए । 'यसपटकको लक्ष्य पनि पूरा होला जस्तो देखिँदैन,' उनले भने । अघिल्लो वर्षको यही समयमा दैनिक १ करोड रुपैयाँसम्म उठ्ने गरे पनि यसपटक भने २० देखि ३० लाख पनि मुस्किलले संकलन भएको उनले बताए ।
यी बाहेक वैशाख महिनामा कलंकी मालपोतले १ करोड ५६ लाख, भक्तपुरले १ करोड ३२ लाख र ललितपुरले १ करोड ५८ लाख राजस्व उठाएका छन् । यी सबैले चैतमा क्रमशः १ करोड २३ लाख, ८६ लाख र १ करोड १६ लाख रुपैयाँ बढी राजस्व उठाएका थिए ।
राष्ट्र बैंकले घरजग्गा क्षेत्रको लगानीमा कडाइ गरेपछि घरजग्गा क्षेत्र सुस्ताउँदै आएको छ । कारोबारको कमीसँगै मूल्य पनि कम हुन थालेको व्यवसायी बताउँछन् ।
'पछिल्लो समयमा कारोबार नै भएको छैन भन्दा हुन्छ,' जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले भने, 'माग भए पनि कारोबार हुन सकेको छैन ।' राष्ट्र बैंकले तोकेको सिलिङका कारण कारोबारमा शिथिलता आएको उनले बताए । 'यसले सरकारकै राजस्व मात्र नभएर रोजगारी र अन्य सहायक उद्योगमा पनि असर गरेको छ,' उनले भने ।
सिलिङका कारण व्यवसाय ठप्प भएपछि केही समयअघि व्यवसायीले राष्ट्र बैंक र सरकारका अधिकारीसँग छलफल गरेका थिए । बैंकिङ क्षेत्रमा तरलता अभाव देखिए पनि पछिल्लो समय रियलस्टेट कम्पनीले बिक्री गर्न खुल्ला गरेका अधिकांश अपार्टमेन्ट नगदमा खरिद भइरहेका छन् । 'पछिल्ला प्रोजेक्टहरूमा ७५ प्रतिशतको हाराहारीमा नगद खरिद भएको,' श्रेष्ठले भने, 'तर बैंकहरूले भने घरजग्गामा लगानी ठप्पै पारेका छन् ।' पछिल्लो समयमा जग्गाको मूल्यमा पनि असर परेको उनले बताए । 'अहिले जग्गाको मूल्य बढ्न छाडेको छ,' उनले भने ।
जग्गाको लगत संकलन गर्न बजेट आएन
भूमि सुधार तथा व्यवस्थापन विभागले काठमाडौं, तराई र पहाडी भूभागमा लाग्ने जग्गाको हदबन्दी लागू गर्न खोजे पनि असफल भएको छ ।
हदबन्दीसम्बन्धी ऐनअनुसार काठमाडौंमा २५ रोपनी, तराईमा १० बिघा र पहाडमा ७० रोपनीको हदबन्दी छ । 'हामीले हदबन्दी निर्धारण गर्न जग्गाको फाँटबारी लिन बजेट माग गरेका थियौं,' विभागका महानिर्देशक केशरबहादुर बानियाँले भने, 'निकासा भएको छैन ।' विभागले तालुक मन्त्रालयलाई ११ करोड रुपैयाँ बजेट माग गरेको थियो ।
यसअघि विभागले हदबन्दी लागू गर्न मालपोत कार्यालयलाई निर्देशन दिएपछि घरजग्गा व्यवसायीको काम ठप्प भएको थियो ।
व्यवसायीको आन्दोलनपछि घरजग्गा कम्पनीलाई भूमि सुधार मन्त्रालयको सिफारिसमा हदबन्दी लागू नहुने व्यवस्था भएको बताइयो । तर यस्तो व्यवस्था लागू भई नसकेको बानियाँले बताए । हदबन्दीको कानुन लागू भए पनि मुलुकमा कुन व्यक्तिको कति जग्गा छ भन्ने तथ्यांक छैन । मालपोत कार्यालयमा घरजग्गा नामसारी भएको विवरण हुने गरे पनि सम्बन्धित व्यक्ति वा संस्थाका नाममा कति जग्गा छ भनेर कुनै निकायले तथ्यांक राखेका छैनन् ।