बेलायती बिकास मन्त्रीद्वारा भोजपुर भ्रमण
by subir on Thursday, May 27th 2010, 6:15 PM
बेलायती बिकास मन्त्रीद्वारा भोजपुर भ्रमण:-
News reporter - शाहीमान राई
भोजपुर , जेष्ठ १३ - बेलायती अन्तर्राष्ट्रिय बिकास मन्त्री एलन डंकनले बिहीबार भोजपुर भ्रमण गरेका छन् । उनले भोजपुरस्थित निर्माणाधीन हरित कृषि सडक, सामुदायिक वन लगायत बेलायतको सहयोगमा संचालित बिभिन्न कार्यक्रमहरुको अवलोकन गरेका छन् ।
भोजपुरमा बेलायत सरकारको अन्तर्राष्ट्रिय बिकास बिभाग डिएफआइडीको आर्थिक सहयोगमा ५० किलोमिटर हरित कृषि सडक, जिविकोपार्जनका लागि वन, समुदाय सहयोग कार्यक्रम, द्वन्द्व पीडित लगायत बिभिन्न कार्यक्रम संचालित छन् ।
भोजपुरमा बिकास निर्माण लगायत बिभिन्न क्षेत्रमा बेलायत सरकारले दश बर्षको अबधिमा करिब तीन अर्ब रुपैंयाँ बराबरको आर्थिक सहयोग पुर्याएको छ । भोजपुर-घोडेटार ३४ किलोमिटर, हिलेभन्ज याङ-दिगल ३५ किलोमिटर सडक ग्रामिण पहुँच कार्यक्रम-२ अन्तर्गत निर्माणाधीन छ । यसअघि धनकुटाको हिले-लेगु वा-भोजपुर देखि चिहानडाँडासम्म करिब ९० करोड रुपैंयाँको लागतमा १ सय ८ किलोमिटर कच्चि राजमार्ग निर्माण भइसकेको छ । भोजपुर-घोडेटार र भोजपुर-चिहानडाँडा सडकमा करिब ७४ करोड र जीविकोपार्जनका लागि वन कार्यक्रममा करिब १५ करोड खर्च गरिसकेको छ ।
काठमाण्डौबाट तारा एयरको जहाजबाट बेलायती मन्त्री एलन डंकन बिहान ९ः३० बजे भोजपुरको टक्सार एयरपोर्टमा जहाजबाट ओर्लिएपछि पञ्चकन्या, जिल्लाका सरकारी अधिकारी, गैरसरकारी संस्थाका पदाधिकारी लगायत कर्मचारीले स्वागत गरेका थिए । एयरपोर्टबाट दुई किलोमिटर वरिपरी सडक निर्माणमा संलग्न श्रमिकहरुलाई उनले भेटघाट गरेका छन् । उनले सडक निर्माणमा सहयोग गरेवापत स्थानीय बासिन्दाको जीवनस्तरमा आएको परिवर्तन बारेमा चासो राखेका थिए । सडक निर्माण समूहमा कार्यरत मजदुर, कर्मचारी र स्थानीय बासिन्दाले फूलमालाले स्वागत गर्दै बेलायत सरकारको सहयोगमा भोजपुरजस्तो दुर्गम जिल्लामा सडक यातायातको पहुँच विस्तार भएकोमा मन्त्रीप्रति कृतज्ञ भएको बताएका थिए ।
सडक मजदुरलाई भेटिसकेपछि उनी बोखिम गाबिसको आहाले सामुदायिक वन उपभोक्ता समुहसित भेटघाट गर्न पुगे । वनउपभोक्ता समूहले बेलायत सरकारको सहयोग पाएर स्थानीय स्तरमा उत्पादित बिभिन्न सामाग्रीको अवलोकन गरेका छन् । बेलायती मन्त्री डंकनलाई स्थानीय तामाङ सेलो, साकेवा शिली नाच्दै स्थानीय बासिन्दाले स्वागत गरेका थिए । सामुदायिक वन उपभोक्ता समूहले स्थानीय स्तरमा उत्पादित बेल, भूईंकटहर, सुन्तलाको जुस, डालो, नाङ्लो, अम्लिसोको कुचो, रुद्राक्षको माला, अलैची, ढाका, फलामका कृषि औजार, धुँवारहित चुल्हो लगायत सथानीय सीप र कलाको अवलोकन गराएका छन् ।
बेलायती बिकास मन्त्रीको करिब तीन घण्टाको भ्रमणमा सशस्त्र, नेपाल प्रहरीले स्कर्टिङ गरी सुरक्षा दिएका थिए । हतारमा भएको मन्त्री डंकनको भ्रमणमा भोजपुरमा सरकारी अधिकारीहरुले स्वागत बाहेक औपचारिक भेट गर्न पाएनन् । बेलायत सरकारबाट प्राप्त सहयोगले जिल्लाबासी आभारी भएपनि थप सहयोगको अपेक्षा गरेका छन् । अधुरा सडकहरु पूरा गर्न र नवनिर्मित सडकहरु कालोपत्र गर्न थप सहयोगको अपेक्षा गरेको सर्बसाधारणले मन्त्रीसित राखेका थिए । बेलायतमा नवनिर्बाचित सरकारका मन्त्री डंकनले सहयोग निरन्तर जारी रहने आश्वासन दिएका छन् । उनले फर्किने बेला संचारकर्मीसित छोटो कुराकानीमा नेपालमा राजनीतिक स्थायित्व, शान्ति र सहमतिको वातावरण निर्माण होस् भन्ने चाहेको समेत बताए । उनी आज तारा एयरको जहाजबाट बिराटनगरतर्फ गएका छन् । मन्त्री डंकनको साथमा उनका सहयोगीहरु वेभर्ली वार्मिङटन, मेरी थिडा लुन, डिएफआइडी प्रमुख सराह सानयाहुम्बी, सल्लाहकारहरु सिमोन लुकास लगायत थिए ।