पत्रकारितामा स्थानीय समस्या
by subir on Thursday, July 15th 2010, 3:52 PM
पत्रकारितामा स्थानीय समस्या:-
- ekantipur.com, हर्ष सुब्बा
मु लुकमा सञ्चारमाध्यमको युगान्तकारी विकास भए पनि स्थानीय विकासका सबै पक्षहरूलाई सार्वजनिक चासोको विषय बनाउन ती माध्यमको अधिकतम उपायोग हुन सकेको छैन । सञ्चारका आधुनिक प्रविधिको सहज उपलब्धताले सञ्चारकर्मीलाई भने सशक्तीकरण गर्दै आएको छ तर उनीहरू आफू सम्बद्ध सञ्चारमा ्यममार् त स्थानीय समस्यालाई राष्ट्रिय समस्यामा जोड्ने प्रभावकारी पत्रकारिता गर्न सकिरहेका छैनन् ।
मुलुकको शासन संघीय ढाँचामा जाने प्रायः निश्चित भएका बेला पत्रकारितामा संघीय ढाँचामा अभ्यासको थालनी आवश्यक भइसकेको छ । त्यस्तो अभ्यास भनेकै स्थानीय विकासका समस्याहरूलाई प्रभावकारी ढंगमा उठाउने पत्रकारिता हो । राजनीतिलाई पनि अब स्थानीय र क्षेत्रीय आधारमा हेर्नुपर्ने प्रवृत्तिको विकास सञ्चार क्षेत्रले गर्नुपर्ने भएको छ । विकास र राजनीति एउटा सिक्काको दुई पाटो भएकाले राजनीति निरपेक्ष पत्रकारिता हँुदैन । नेपालमा कुनै बेला विकास पत्रकारिताको लहर आएको थियो । थुप्रै तालिम भए, त्यसै आधारमा खोजमूलक समाचारहरू नआएका भने होइनन् । यसैगरी वातावरण पत्रकारिताको अर्को लहर चल्यो । प्रशस्तै समाचार
लेखिए । दातृसंस्थाको कोषको लेखनवृत्ति रहेसम्म समाचार लेखिए । त्यसलाई स्थानीय समस्याहरूसँग जोडेर निरन्तरता भने
दिइएन । अहिले संविधानसभा र राज्य पुनसर्ंरचनादेखि महिला, दलित अधिकार, बालबालिका, सरसफाइ विषयमा पत्रकारलाई तालिम दिने क्रम जारी छ । लेखनवृत्ति सकिएपछि निरन्तरता बन्द गर्ने र पाएको ज्ञानलाई स्थानीय समस्यासँग जोड्न सिर्जनशीलता अभाव स्थानीय पत्रकारितामा नकारात्मक पक्षका रूपमा रहेको छ ।
स्थानीय समस्यालाई राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भसँग जोडेर राष्ट्रिय समस्या बनाउने क्षमताको विकास स्थानीय पत्रकारले गर्नु आजको आवश्यकता हो । सप्तकोसीमा उच्चबाँधको योजना अहिले राष्ट्रिय समस्याको रूपमा अघि आएको छ । बाँध बनेमा त्यसले पुर्याउने सबैभन्दा धेरै क्षति पूव्र्ााञ्चलका जिल्लाहरूमा हुने तथ्यले यसलाई क्षेत्रीय समस्याका रूपमा पनि हेर्न सकिन्छ । डुबानमा पर्ने गाउँहरूका लागि यो स्थानीय समस्या पनि हो । कुनै पनि स्थानीय तथा क्षेत्रीय विषयहरू नै राष्ट्रिय समस्या बन्ने सम्भावना भएकाले समाचारहरूलाई स्थानीय, क्षेत्रीय र राष्ट्रिय भन्दै आफैंले वर्गीकरण गरिनु गलत हो । स्थानीय समस्यालाई उठाएर त्यसको गम्भीरतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिएका कतिपय समाचार राष्ट्रिय समस्या बनेका उदाहरण नभएका होइनन् । स्थानीय समस्यामा केन्दि्रत पत्रकारिताले राज्यको ध्यान स्थानीय विषयमा केन्दि्रत गर्न दबाब सिर्जना गर्छ । सञ्चारकर्मीहरू अहिले पनि मन्त्री, नेताका पछि दौडिरहेका भेटिन्छन् । एउटा छोटो समाचारका लागि मरिमेट्ने यो तरिकालाई पनि नयाँ दिशा दिन आवश्यक छ । उनीहरूसँग स्थानीय विषयका प्रश्न तेस्र्याएर स्थानीय समस्याहरूप्रति उत्तरदायित्व बोध गराउनुपर्छ ।
ठूला मिडिया हाउसहरूले अहिले पत्रकारितालाई उपभोक्तावादी दिशामा लैजान थालेका छन् । उनीहरू राजधानीबाहिर बजारमुखी समाचार दिन थालेका छन् । मिडिया साक्षरता बढ्दै गएको अहिलेको अवस्थामा उनीहरू सहरी क्षेत्रमा स्थानीयतामा केन्दि्रत भएको ठूला अखबारहरूको प्रस्तुतिबाट बुझ्न
सकिन्छ । ठूला मिडियामा सम्बद्ध स्थानीय सञ्चारकर्मीका लागि स्थानीय समस्याहरूलाई मुखरित गर्न यो राम्रो अवसर हो । ठूलो अखबारमा सधैं ठूलै समाचार चाहिन्छ भन्ने मानसिकताबाट अब स्थानीय पत्रकारहरू मुक्त हुन सक्नुपर्छ । स्थानीय समस्याहरू त्यसको संवेदनशीलता, गम्भीरता, राष्ट्रिय, क्षेत्रीय महत्त्वका बारे सूचना पाउने स्रोतहरूको पहिचान गर्न सके ठूला अखबारमा पनि स्थानीय समस्याका समाचार बढ्ने सम्भावना बढेको छ ।
राजधानीपछि पत्रकारिताको विकासमा निकै अगाडि बढेको पूर्वाञ्चलमा पाठक बजार, विज्ञापन र नयाँ पुस्ताका सिर्जनशील पत्रकारहरू बढ्दो छ । पूर्वाञ्चलमा प्रकाशित हुने कतिपय दैनिक पत्रिकाहरूको बजार रणनीतिक योजना भने पाइन्न । स्थानीय समस्या उठाएर स्थापित गरेका उदाहरण कमै छन् । एफएम र अनलाइनले ब्रेकिङ गरिसकेका नै उनीहरूका मुख्य समाचार हुने गरेका छन् । स्थानीय बजारमा प्रतिस्पर्धा गर्न अब पूर्वाञ्चलका दैनिकहरूले नयाँ सोच र क्षेत्रीय मिडियाका रूपमा जानैपर्ने अवस्था आइसकेको छ ।
स्थानीय दैनिकहरूको स्थानीय बजारमा प्रभाव बढेमा मात्र ठूला मिडियाहरू त्यसको प्रतिस्पर्धामा जाने रणनीतिमा उत्रिन्छन् । गाउँहरू नयाँ डेटलाइन बन्न सक्छन् । यस्ाबाट प्रतिभाशाली नयाँ पत्रकारका लागि स्थानीय तहमा रोजगारीको सिर्जना हुन सक्छ । यस्तोमा नयाँ स्थिति सिर्जना गर्न राजधानीबाहिरका अगुवा सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने बेला आएको छ ।
www.ekantipur.com